
कैलालीको धनगढीमा खेलकुद तथा खेलकुद पत्रकारिता सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सहजीकरणमा सुरु भएको गोष्ठीमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका ३५ जना पत्रकार सहभागी छन्।

कार्यशालामा खेलकुद पत्रकारिताको अभ्यास, खेल समाचार लेखन, खेलकुदको समग्र अवस्था, खेलकुद रिपोर्टिङका चुनौती तथा अवसरलगायत विषयमा छलफल गरिने आयोजकले जनाएको छ। कार्यशालामा पत्रकार पवन आचार्य, गोविन्द रेग्मी र अर्जुन शाह लगायतले सहजीकरण गरिरहेका छन्।

कार्यक्रमबाट खेलकुद पत्रकारिताको क्षमता अभिवृद्धि गर्दै प्रदेशमा खेलकुद पत्रकारितालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। भोलिसम्म चल्ने कार्यशालामा विभिन्न सत्र सञ्चालन भइरहेको आयोजकले जनाएको छ। त्यसअघि खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकको अध्यक्षता र पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहको प्रमुख आतिथ्यतामा कार्यशालाको उद्घाटन गरिएको थियो।
































