कञ्चनपुरको बेलौरीमा दुःखद घटना: खोलामा नुहाउने क्रममा बाढीमा बगेकी १५ वर्षीया किशोरी मृत भेटिइन्

Image
Nisarga Hospital

कञ्चनपुरको बेलौरी नगरपालिकामा झरना खोलामा आएको एक्कासी बाढीले बगाएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। बेलौरी नगरपालिका–९ निवासी अन्दाजी १५ वर्षीया गरिमा तिरुवा बिहीबार साँझदेखि बेपत्ता भएकी थिइन्। उनको शव शुक्रबार बिहान घटनास्थलबाट करिब ५०० मिटर तल बेलौरी–रतनपुर नाला क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

प्रहरीका अनुसार गरिमा स्थानीय प्रेम महरको खेतमा रोपाइँ सकेपछि दिदीबहिनीसहित ६–७ जनाको समूहमा नजिकैको झरना खोलामा नुहाउन गएकी थिइन्। सोही क्रममा एक्कासी खोलामा पानीको बहाव बढेपछि उनी बाढीमा बगेर बेपत्ता भएकी हुन्। गरिमालाई पौडी खेल्न नआउने भएकाले उनी बहावमा फसेकी थिइन्। उनीसँग रहेका साथीहरूले उद्धार गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।

घटनापछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीलाई खबर गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले बिहीबार रातिसम्म खोजी गरे पनि सफलता नपाएपछि शुक्रबार बिहान पुनः खोजी सुरु गरिएको थियो। इलाका प्रहरी कार्यालय बेलडाँडी तथा सशस्त्र प्रहरीका विपद् उद्धार टोलीसहित करिब ३० जनाको संयुक्त खोजी अभियानका क्रममा गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।