
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार २३ गते बिहान ११ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का महत्त्वपूर्ण आर्थिक प्रस्तावहरू प्रस्तुत गरिने जनाएको छ।

कार्यसूचीअनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) प्रदेश सभामा टेबुल गर्नेछ। साथै, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने व्यवस्था सम्बन्धी विनियोजन विधेयक पनि पेश गरिनेछ।

बैठकमा मुस्लिम आयोग, थारु आयोग, महालेखा परीक्षकको कार्यालय तथा मधेशी आयोगका वार्षिक प्रतिवेदन पनि सभासमक्ष प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ।

आगामी आर्थिक वर्षको बजेट र विनियोजनसम्बन्धी प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने अपेक्षा गरिएको छ। यस बैठकलाई प्रदेश सरकारको आगामी आर्थिक नीति, बजेट कार्यान्वयन तथा विकास कार्यक्रमको दिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।
































