दीपेन्द्रसिंह ऐरी बने एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डका ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’

Image
Nisarga Hospital

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डअन्तर्गत ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’ घोषित भएका छन्। उनले भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामीलाई पछि पार्दै ट्रफीसहित ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। कार्यक्रममा अनुपस्थित रहेकाले उनको तर्फबाट क्रिकेटर शेर मल्लले अवार्ड ग्रहण गरेका थिए।

CP Hospital Dhangadhi

ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच खेलमा प्रत्यक्ष थ्रोमार्फत रनआउट गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईमा भएको त्रिकोणात्मक शृंखलामा उनले नेपालका लागि सर्वाधिक १७५ रन बनाएका थिए।

Attariya Hospital

आईसीसी टी–२० विश्वकपमा स्कटल्यान्डविरुद्ध अविजित अर्धशतक प्रहार गर्दै उनले नेपाललाई १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दिलाउन महत्वपूर्ण भूमिका खेले। त्यस्तै, इङ्ग्ल्यान्डविरुद्ध ४४ तथा वेस्ट इन्डिजविरुद्ध ५८ रनको उत्कृष्ट इनिङ खेलेर प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेका थिए।

nawajiwan

नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि उनको कप्तानीमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। उत्कृष्ट प्रदर्शन, नेतृत्व क्षमता र नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यस वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड प्रदान गरिएको हो।