
धनगढी: बैतडीको पाटन नगरपालिका–९ गैराखान नजिक शुक्रबार भएको बस दुर्घटनामा घाइते भएका १७ जनामध्ये १४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

माया मेट्रो अस्पतालका PR म्यानेजर जगत महताका अनुसार उपचाररत १४ जनामध्ये ७ जनाको सघन उपचार कक्ष (ICU) मा र ७ जनाको न्युरो वार्डमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ। घाइतेहरूको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यक उपचार सेवा प्रदान भइरहेको उहाँले जानकारी दिनुभयो।

अस्पतालमा उपचाररत घाइतेहरूमा जनत पन्त, रामदत्त पाण्डेय, मोहन पन्त, धना पहारी, दीपक बिक, दिनेश भट्ट, सिद्धार्थ भण्डारी, रमेश महार, दीपा महार, अरुण महार, माया बिष्ट, जनकराज जोशी, रत्ना भण्डारी र अनुग्रह ठगुन्ना रहेका छन्।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
































