
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–७ तेकुलास्थित श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नवनिर्मित २ कोठे भवन उद्घाटनसँगै संस्थाको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले रिबन काटेर भवनको उद्घाटन गरेका हुन्।

भवन निर्माणका लागि गोदावरी नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत विनियोजित रु. ८ लाख तथा खानेपानी समितिको आफ्नै कोषबाट रु. ६ लाख ११ हजार १९५ रुपैयाँ ४५ पैसा गरी कुल रु. १४ लाख ११ हजार १९५ रुपैयाँ खर्च गरिएको समितिले जनाएको छ।


वि.सं. २०७१ सालदेखि सञ्चालनमा रहेको उक्त खानेपानी संस्थाले हाल १,७११ घरधुरीलाई शुद्ध तथा सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको छ। संस्थाले स्थानीय बासिन्दाको स्वच्छ खानेपानीमा पहुँच विस्तार गर्दै जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएको बताइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गोदावारी नगरपालीका नगर प्रमुख भट्टले संस्थाले लामो समयदेखि हजारौं नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आगामी दिनमा सेवा अझ प्रभावकारी, व्यवस्थित र विस्तारमुखी बन्नुपर्नेमा जोड दिए।

खानेपानी विस्तारका लागि बाँकी रहेका बस्ती तथा घरधुरीसम्म पनि सुरक्षित खानेपानी सेवा विस्तार गरी सबै नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न आग्रह गर्दै नगरपालिकाको आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

त्यसै गरी यही वडा नं निर्माण गरेको गौशाला व्यवस्थापनमा यस क्षेत्रका युवाहरु सहयाेग गर्न र उक्त कार्यलाई पालिकाको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रममा खानेपानी समितिका अध्यक्ष दिर्घ साउदले आफ्नो कार्यकालमा सम्पन्न भएका योजना, सेवा विस्तार, संस्थागत सुधारका गतिविधि समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले उपभोक्ताको आर्थिक अवस्थालाई ध्यानमा राख्दै न्यूनतम खानेपानी महसुल २० रुपैयाँ घटाएर १३० रुपैयाँ कायम गरेको छ। ३० लाख रुपैयाँ लागतको रिजर्भ ट्यांकी निर्माण करिब ८० प्रतिशत सम्पन्न भएको तथा गोदावरी नगरपालिकाको ८ लाख र संस्थाको ६ लाख ११ हजार १९५ रुपैयाँ लगानीमा दुईकोठे पक्की भवन निर्माण गरिएको उल्लेख छ। भवन अभाव, महसुल संकलनमा ढिलाइ र पाइपलाइन मर्मत चुनौतीका रूपमा औंल्याइएको छ। आगामी दिनमा ऐन–विनियम लागू गर्ने, दोहोरो पाइपलाइन विस्तार, रिजर्भ ट्यांकी सञ्चालन र तेस्रो बोर सञ्चालनको योजना अघि सारिएको छ। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले १ करोड १६ लाख २८ हजार १२० रुपैयाँ कारोबार गरी १८ लाख ७१ हजार ९२८ रुपैयाँ बचत गरेको जनाएको छ।


































