
रमेश बहादुर सिंह /बझाङ: भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बझाङद्वारा स्थानीय तह पकेट प्याकेज विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा निर्माण गरिएका बाख्राका खोर तथा व्यावसायिक बाख्रा फार्महरूको संयुक्त अनुगमन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीको नेतृत्वमा गएको अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका बाख्रा पालन व्यवसाय, अनुदानमा निर्माण गरिएका खोर तथा फार्महरूको स्थलगत निरीक्षण गर्दै कार्यक्रमको प्रभावकारिता, अनुदानको सदुपयोग तथा पूर्वाधारको अवस्थाबारे जानकारी लिएको हो।
टोलीले दुर्गाथली गाउँपालिका–४ स्थित धनदेउ मस्टा फार्म, त्याडी डाँडाबाघ बहुउद्देश्यीय कृषि फार्म, छबिसपाथिभेरा गाउँपालिका–१, दुर्गाथली गाउँपालिका–१ मा सञ्चालित मस्टा कृषि तथा पशुपन्छी विकास फार्म तथा थलारा गाउँपालिका–३, ४, ६ र ९ का विभिन्न व्यावसायिक बाख्रा फार्महरूको निरीक्षण गरेको थियो।


अनुगमनका क्रममा किसानहरूसँग व्यवसाय सञ्चालनको अवस्था, उत्पादन, बजार व्यवस्थापन, खोर निर्माणको गुणस्तर तथा सरकारी अनुदानको उपयोगिताबारे छलफल गरिएको थियो। साथै कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र दिगो बनाउन आवश्यक सुझाव समेत दिइएको जनाइएको छ।
अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बझाङका कार्यालय प्रमुख कबिराज कठायत, जिल्ला समन्वय समिति बझाङका उपप्रमुख कृष्ण बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनकबहादुर सिंह, नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंह, नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंह लगायतको सहभागिता रहेको थियो।
































