
तीन दशकभन्दा बढी समय इरानको सर्वोच्च नेताका रूपमा शासन गरेका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ। अमेरिका–इजरायलसँगको युद्धको प्रारम्भिक चरणमा उनको मृत्यु भएपछि इरानको आन्तरिक राजनीति र मध्यपूर्वको शक्ति सन्तुलनबारे नयाँ प्रश्न उठेका छन्।

सन् १९८९ मा सर्वोच्च नेता बनेका खामेनेईले इरानलाई क्षेत्रीय शक्तिका रूपमा स्थापित गर्न लेबनानको हज्बोल्लाह, यमनका हुथी, प्यालेस्टाइनको हमास र इराकका विभिन्न मिलिसियालाई समर्थन गर्दै ‘प्रतिरोधको अक्ष’ विस्तार गरेका थिए। तर पछिल्ला युद्ध र सैन्य कारबाहीले उक्त रणनीतिलाई ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ।

उनको शासनकाल आणविक कार्यक्रम, अन्तर्राष्ट्रिय प्रतिबन्ध, राजनीतिक दमन र आर्थिक संकटका कारण निरन्तर विवादमा रह्यो। सन् २००९, २०१९ र २०२२ का जनआन्दोलन सुरक्षा बल प्रयोग गरेर दबाइएका थिए।

खामेनेईको निधनपछि उनका छोरा आयातोल्लाह मोज्ताबा खामेनेईलाई नयाँ सर्वोच्च नेता चयन गरिएको जनाइएको छ। यद्यपि उनी सार्वजनिक रूपमा नदेखिएकाले नेतृत्वबारे अन्योल कायम छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उभिन आह्वान गरेका छन्। अब इरानको भावी राजनीतिक दिशा शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को भूमिका र नयाँ नेतृत्वको निर्णयमा निर्भर रहने विश्लेषण गरिएको छ।
































