
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्थानीय उत्पादन वृद्धि र व्यावसायिक फलफूलखेती प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३९० फलफूलका बिरुवा वितरण गरेको छ।

चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले दशहरी जातका एक हजार २०० आँप, एक हजार १५० लिची र ४० सिडलेस अङ्गुरका बिरुवा वितरण गरेको कृषि विकास शाखा प्रमुख लालबहादुर धामीले जानकारी दिए। फलफूलखेतीमा रुचि राख्ने किसानलाई जनही दुई–दुई आँप र लिचीका बिरुवा तथा व्यावसायिक अङ्गुरखेती गर्न चाहनेलाई सिडलेस अङ्गुरका बिरुवा उपलब्ध गराइएको छ।

आँप र लिचीका बिरुवा ४२ रुपैयाँ ५० पैसा तथा अङ्गुरका बिरुवा ५० रुपैयाँमा उपलब्ध गराइएको छ। कार्यक्रमका लागि नगरपालिकाले एक लाख रुपैयाँ खर्च गरेको छ भने बराबर रकम किसानले व्यहोरेका छन्।

बिरुवा वितरणसँगै किसानलाई बगैँचा स्थापना, रोपाइँ, मल व्यवस्थापन, सिँचाइ र बिरुवा संरक्षणसम्बन्धी प्राविधिक परामर्श पनि दिइएको छ। नगरपालिकाले विगत तीन वर्षदेखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी वर्षहरूमा पनि व्यावसायिक फलफूलखेती विस्तारलाई निरन्तरता दिने जनाएको छ।































