
कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा भारतीय नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति पौने १० बजेतिर युपी ६५ ईएक्स ०१०० नम्बरको गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो। उपचारकै क्रममा राति पौने ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन्। दुर्घटनापछि भारतीय नम्बरको गाडी र चालक घटनास्थलबाट फरार भएका छन्। फरार गाडी र चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































