
ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा एक युवतीलाई सार्वजनिक स्थानमा अश्लील व्यवहार गरेको आरोपमा बैतडी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनी हाल इमाडोलमा बसोबास गर्दै आएका थिए र सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत छन्।


घटना आइतबार साँझ करिब ६ः३० बजे भएको प्रहरीले जनाएको छ। आरोपअनुसार भट्टले गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेका थिए। त्यसपछि युवतीले साहसपूर्वक घटनाको भिडियो खिच्दै उनलाई पछ्याइन् र स्थानीयको सहयोगमा नियन्त्रणमा लिन आग्रह गरिन्।
उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना व्यापक चर्चामा आएको थियो। भिडियोमा एक व्यक्तिले आरोपीलाई नियन्त्रणमा लिएको तथा उनले आफ्नो व्यवहारप्रति क्षमायाचना गरेको दृश्य पनि देखिन्छ।
पीडितको जाहेरीका आधारमा प्रहरी प्रभाग इमाडोलले भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनासँग सम्बन्धित सिसिटिभी फुटेज सङ्कलन गर्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।
































