अत्तरिया उद्योग वाणिज्य संघको महासचिवमा गोकुल भट्टको दाबी, युवा नेतृत्वमार्फत संस्थालाई गतिशील बनाउने प्रतिबद्धता

Image
Nisarga Hospital

अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा महासचिव पदका आकांक्षीहरू चुनावी तयारीमा सक्रिय बनेका छन्। यसैक्रममा युवा व्यवसायी गोकुल भट्ट महासचिव पदका बलिया दाबेदारका रूपमा चुनावी मैदानमा देखिएका छन्। लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय रहेका भट्टले उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरूको हकहित, अधिकार र व्यावसायिक समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

हाल पार्वती ट्रेडिङ एण्ड सप्लायर्स सञ्चालन गरिरहेका भट्टले अत्तरियासँगै सुदूरपश्चिमका विभिन्न जिल्लामा व्यापारिक सेवा विस्तार गर्दै आएका छन्। व्यापारिक परिवारमा हुर्किएका उनले आफ्ना बुवाले अत्तरिया क्षेत्रमा व्यापारिक गतिविधि सीमित रहेको समयमा सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आफूलाई सफल युवा व्यवसायीका रूपमा स्थापित गरेका छन्।

महासचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेका भट्टले उद्योग वाणिज्य संघलाई व्यवसायीको साझा संस्था बनाउँदै संस्थागत गरिमा उकास्ने, व्यापारीका समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र संघलाई थप सक्रिय तथा गतिशील बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। विशेषगरी कर प्रणाली, भ्याट, प्रशासनिक जटिलता तथा दैनिक व्यापारिक गतिविधिमा व्यवसायीले भोग्ने समस्या सम्बन्धित निकायसमक्ष संस्थागत रूपमा उठाउने उनको योजना छ।

सरल व्यवहार, स्पष्ट विचार र निर्णयमा दृढ रहने स्वभावका कारण व्यापारीमाझ आफूले सकारात्मक विश्वास जितेको भट्टका समर्थकहरूको दाबी छ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नेतृत्वको आवश्यकता रहेको भन्दै उनीहरूले महासचिव पदमा भट्ट उपयुक्त उम्मेदवार हुने विश्वास व्यक्त गरेका छन्।

यता, असार २७ र २८ गते तय भएको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि पनि तीव्र बन्दै गएको छ। हालसम्म कुनै समूहले औपचारिक रूपमा पूर्ण प्यानल सार्वजनिक नगरे पनि सम्भावित उम्मेदवारहरूले सचिवालय स्थापना, व्यापारीसँग भेटघाट तथा समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्।