
कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराको जगनाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई जोड्ने फेरी सेवा बन्द हुँदा स्थानीय बासिन्दा दैनिक उपभोग्य सामग्री ढुवानी र आवतजावतमा ठूलो सास्ती खेप्न बाध्य भएका छन्। असारको पहिलो सातादेखि फेरी सञ्चालन रोकिएपछि हिउँदभर सहज रूपमा वारपार गर्ने जिप, ट्र्याक्टरलगायतका सवारीसाधन अहिले पिलीचौरमै रोकिन थालेका छन्।

फेरी बन्द भएसँगै स्थानीयले खाद्यान्न तथा अन्य आवश्यक सामग्री भरियामार्फत बोकेर गाउँसम्म पुर्याउनुपरेको छ। स्वामीकार्तिक खापर–२ का स्थानीय नरबहादुर लुहारले पहिले गाडीबाट घरसम्म सामान पुग्ने भए पनि अहिले घण्टौँ भारी बोकेर हिँड्नुपर्ने बाध्यता रहेको बताए।

जिप चालक शेरबहादुर कार्कीले कर्णाली नदीमा पक्की पुल निर्माण भए वर्षभरि नै सवारी सञ्चालन सम्भव हुने बताए। गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले अधिकांश वडा सडक सञ्जालमा जोडिए पनि पुल अभावका कारण बर्खायाममा यातायात अवरुद्ध हुने समस्या दोहोरिएको उल्लेख गर्दै कर्णालीमा स्थायी पुल निर्माणका लागि संघीय र प्रदेश सरकारसँग पटक–पटक माग गरिएको बताए।

































