
सार्वजनिक यातायात सेवालाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यका साथ सुन्दर सुदूरपश्चिम यातायात प्रालिले चालक, परिचालक र सहचालकका लागि गाडी नम्बर उल्लेख भएको आधिकारिक परिचयपत्र (आईडी कार्ड) अनिवार्य गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब प्रत्येक बसमा कार्यरत चालक, परिचालक र सहचालकले आफू कार्यरत सवारीसाधनको नम्बर समावेश भएको परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। यसबाट यात्रुले आफू चढ्ने गाडी र त्यसमा कार्यरत कर्मचारीलाई सहजै पहिचान गर्न सक्ने प्रालिको विश्वास छ।
प्रालिका अध्यक्ष पदमराज सापकोटाले यात्रुको विश्वास बढाउने, सेवा प्रवाहलाई थप पारदर्शी बनाउने तथा बसपार्कमा हुने अन्योल र दलालको चलखेल नियन्त्रण गर्न यो व्यवस्था लागू गरिएको जानकारी दिए। उनका अनुसार यसले यात्रुलाई सही गाडी छनोट गर्न र आधिकारिक कर्मचारीसँग मात्र सम्पर्क गर्न सहज हुनेछ।


प्रालिका कोषाध्यक्ष गोविन्द शाहले टिकट खरिददेखि गन्तव्यसम्मको यात्रालाई थप सुरक्षित र व्यवस्थित बनाउन परिचयपत्र प्रणाली प्रभावकारी हुने बताए। यात्रुले आधिकारिक कर्मचारीलाई सहजै चिन्ने भएकाले सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता बढ्ने उनको भनाइ छ।
प्रालिले आगामी दिनमा पनि यात्रुमैत्री, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सेवा विस्तारका लागि यस्ता सुधारात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
































