बझाङमा पाँच उत्कृष्ट कृषकलाई भीमदत्त कृषि पुरस्कार, जनही २५ हजार रुपैयाँसहित सम्मान

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङ: कृषि ज्ञान केन्द्र, बझाङ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बझाङको संयुक्त आयोजनामा प्रादेशिक कृषि विकास रणनीति (PADS) कार्यान्वयनका लागि जिल्ला स्तरीय PADS तथा DCC बैठक, उत्कृष्ट कृषक पुरस्कार वितरण तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाको कृषि तथा पशुपालन क्षेत्रको वार्षिक प्रगति समीक्षा गर्नुका साथै प्रादेशिक कृषि विकास रणनीतिको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।
सोही अवसरमा कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका बझाङका पाँच जना उत्कृष्ट कृषकलाई भीमदत्त कृषि पुरस्कार–२०८३ अन्तर्गत जनही २५ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको छ।
कृषि ज्ञान केन्द्रतर्फबाट छबिसपाथिभेरा गाउँपालिका–६ की मिना देवी बुढा, खप्तडछान्ना गाउँपालिकाका कैलाश खड्का तथा बुगल नगरपालिकाका धनबहादुर बाघ सम्मानित भएका छन्।
त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रतर्फबाट धौली देवी धामी र केदारस्यूँ गाउँपालिकाका गणेशबहादुर धामी पनि भीमदत्त कृषि पुरस्कारबाट सम्मानित भएका छन्।
कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कृषकहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। सहभागी वक्ताहरूले यस्ता पुरस्कारले कृषकको मनोबल बढाउनुका साथै व्यावसायिक कृषि र पशुपालनको विकासमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रसँग सम्बन्धित सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक, कृषक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi
Attariya Hospital