
सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेसँगै सुदूरपश्चिममा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विकासका लागि महत्वपूर्ण ढोका खुलेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अब गेटा अस्पताललाई शिक्षण, विशेषज्ञ स्वास्थ्य सेवा तथा दक्ष चिकित्सा जनशक्ति उत्पादनका लागि आवश्यक संरचना र प्रणालीसहित सञ्चालन गरिनेछ। यस निर्णयले मेडिकल शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी, स्वास्थ्यकर्मी तथा सुदूरपश्चिमका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

लामो समयदेखि शिक्षण अस्पतालका रूपमा सञ्चालनको प्रतीक्षामा रहेको गेटा अस्पतालले अब विश्वविद्यालयसँग आबद्ध भएर सेवा विस्तार गर्ने बाटो पाएको छ। यसलाई सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

































