
अमेरिका र इरानबीच पाकिस्तान र कतारको मध्यस्थतामा भएको अस्थायी युद्धविराम सम्झौता पूर्ण रूपमा समाप्त भएको घोषणा गरिएको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तेहरानस्थित आजादी स्क्वायरमा सम्पन्न अन्त्येष्टिकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्य भएको औपचारिक घोषणा गर्दै इरानसँग अब कुनै वार्ताको आवश्यकता नरहेको बताएका छन्।

खामेनीको मृत्यु इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा भएको दाबी गरिएको छ। अन्त्येष्टिमा लाखौँ मानिस सहभागी हुँदै अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरेका थिए भने बदलाको मागसमेत गरेका थिए। यद्यपि आर्थिक संकट र महँगीका कारण केही नागरिक भने कार्यक्रममा सहभागी भएनन्।
युद्धविराम भंग भएपछि दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लङ्घनको आरोप लगाएका छन्। इरानले अमेरिकी प्रतिबन्ध, सैन्य गतिविधि र होर्मुज स्ट्रेटसम्बन्धी कदमलाई कारण देखाएको छ भने अमेरिकाले इरानले सम्झौताको सर्त पालना नगरेको दाबी गरेको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामाथि आक्रमण गर्ने चेतावनी पनि दिएको छ।


यसबीच अमेरिकी सेनाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको दाबी गरेको छ भने इरानले पनि बहराइन र कुवेतस्थित अमेरिकी आधारहरूमा जवाफी आक्रमण गरेको जनाएको छ।
तनाव चुलिएसँगै विश्व ऊर्जा बजारमा पनि प्रभाव परेको छ। होर्मुज स्ट्रेटमार्फत तेल आपूर्ति प्रभावित हुने आशंकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले बढेको छ। उता, खामेनीको निधनपछि उनका छोरा मोजतबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा अघि बढ्ने तयारीमा छन्। युद्ध, आर्थिक संकट र अन्तर्राष्ट्रिय प्रतिबन्धबीच इरानको आगामी राजनीतिक तथा कूटनीतिक यात्रा थप चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।































