
कैलालीको घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कार्यक्रममा उनले दिएको भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे जानकारी लिन र आवश्यक सोधपुछ गर्न उनलाई जिल्ला झिकाइएको हो। प्रहरीका अनुसार उनी अन्य केही विषयमा काउन्सिलिङका लागि बोलाइएका बेला भिडियो सार्वजनिक भएपछि सोही विषयमा पनि छलफल गरिने भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले भिडियोमा व्यक्त गरिएको अभिव्यक्तिबारे तथ्य बुझ्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार डीएसपी चौधरीलाई सुरुमा अन्य प्रशासनिक विषयमा बोलाइएको भए पनि भिडियो भाइरल भएपछि त्यसबारे पनि स्पष्टीकरण लिने निर्णय गरिएको हो।

सचेतनामूलक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई संविधान र कानुनअनुसार सञ्चालन हुने संस्था भएको बताएका थिए। उनले “हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो, केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो” भन्ने अभिव्यक्ति दिएका थिए, जुन सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो।
भिडियोमा उनले आफ्नो भनाइ सार्वजनिक नगर्न अनुरोध गरेको आवाज पनि सुनिन्छ। यद्यपि भिडियो सार्वजनिक भएपछि उनको अभिव्यक्तिले व्यापक चर्चा र विवाद सिर्जना गरेको छ। प्रहरीले घटनाबारे आवश्यक सोधपुछपछि थप निर्णय लिने जनाएको छ।































