
धनगढी: कैलालीमा जेनजी आन्दोलनका क्रममा लुटिएको सरकारी स्कारपियो गाडी स्वरूप परिवर्तन गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा घोडाघोडी नगरपालिका–२ निवासी अर्जुन कार्की पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सेनाका अनुसार जेनजी आन्दोलनका क्रममा धनगढी उपमहानगरपालिका–४ स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डिनको कार्यालयबाट बा २ झ २८५९ नम्बरको सरकारी स्कारपियो करिब ४७५ जनाको भीडले लुटेर लगेका थिए।
घटनापछि प्रहरीले गाडीको खोजी कार्यलाई तीव्र बनाएको थियो। सोही क्रममा २०८२ असार ८ गते घोडाघोडी नगरपालिका–२ मा अर्जुन कार्कीले सञ्चालन गरेको लिगासैनी सःमिल तथा फर्निचर उद्योगमा छापा मार्दा उक्त सरकारी स्कारपियोको बाहिरी स्वरूप परिवर्तन गर्ने काम भइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार गाडीको पहिचान लुकाउने उद्देश्यले यसको स्वरूप परिवर्तन गर्ने प्रयास भइरहेको थियो। बरामद गरिएको स्कारपियोलाई नियन्त्रणमा लिएर थप प्राविधिक परीक्षणसमेत अघि बढाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अर्जुन कार्कीविरुद्ध चोरी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीमाथि जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी तथा सरकारी सम्पत्तिको लुटपाटमा संलग्न अन्य व्यक्तिको समेत खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ। घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।
































