
कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार नैन सिंह कार्कीले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। बिहीबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्कीले व्यवसायीको हित, संस्थागत सुदृढीकरण र संघको प्रभावकारी नेतृत्वका लागि आफ्नो टोली निर्वाचनमा होमिएको बताएका छन्।

कार्की नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद गौतम, वाणिज्य उपाध्यक्षमा पूर्णप्रसाद चौलागाईं, वस्तुगत उपाध्यक्षमा लहानु चौधरी, महासचिवमा प्रकाश कुँवर, सचिवमा मनोज परियार तथा कोषाध्यक्षमा दीपकप्रकाश न्यौपाने उम्मेदवार रहेका छन्। सदस्य पदका लागि सूर्य खत्री, पदम बोहरा, डल्लु राना मगर र चन्द्रा रावतले उम्मेदवारी दिएका छन्।

यसअघि अध्यक्षका अर्का उम्मेदवार कमल कडायत र रमेश भट्टराईले पनि आफ्ना–आफ्ना प्यानल सार्वजनिक गरिसकेका छन्। यससँगै संघको निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको छ।

हाल अत्तरिया उद्योग वाणिज्य संघमा १ हजार २४ जना सदस्य आबद्ध छन्। संघको साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि असार २७ र २८ गते कार्यक्रम तय गरिएको छ। निर्वाचनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको समयसीमा तोकिएको थियो।
































