
डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सचिव टंकप्रसाद अवस्थीमाथि पत्रकारिता पेशामा सक्रिय नरहे पनि सरकारी कार्यालयहरूमा विज्ञापन प्रकाशनको भुक्तानी माग्दै बिल पेश गरेको आरोप लागेको छ। ‘नयाँ युग संवाहक’ पत्रिकाको नाममा विभिन्न सरकारी कार्यालयमा बिल पेश गरी रकम भुक्तानीका लागि दबाब दिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार अवस्थी हाल राजनीतिक गतिविधिमा सक्रिय रहे पनि आफूलाई पत्रकारका रूपमा प्रस्तुत गर्दै असार मसान्त नजिकिँदै गर्दा विभिन्न कार्यालयमा विज्ञापनको भुक्तानी मागिरहेका छन्। उक्त पत्रिकाका प्रकाशक अवस्थी स्वयं भए पनि लामो समयदेखि पत्रिका नियमित रूपमा प्रकाशन नभएको र विज्ञापन रकम लिनकै लागि पछिल्ला केही अंक मात्रै निकालिएको आरोप पनि लगाइएको छ।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिंहले अवस्थी पत्रकारिता पेशामा आबद्ध नरहेको, शाखाको सदस्यसमेत नभएको बताए। उनले डडेल्धुरा अस्पताललगायत सरकारी कार्यालयमा उक्त पत्रिकाको बिल पुगेको विषयमा गुनासो आएको जानकारी दिए।

यता अवस्थीले भने आफूले व्यक्तिगत रूपमा कुनै बिल पेश नगरेको दाबी गरेका छन्। उनका अनुसार पत्रिका अहिले अन्य व्यक्तिले सञ्चालन गरिरहेका छन् र नामसारी प्रक्रिया पूरा नभएकाले आफ्नो नाममा बिल पेश भएको हुन सक्ने बताएका छन्।
































