
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना इरानले बनाएको हुन सक्ने खुफिया सूचना सार्वजनिक भएपछि अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार इसराइलले हालै वासिङ्टनलाई ट्रम्पलाई लक्षित गर्न सकिने योजनाबारे गोप्य सूचना उपलब्ध गराएको हो।

टर्कीमा आयोजित नेटो शिखर सम्मेलनका क्रममा ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए। उनले आफू इरानको निशानामा रहेको दाबी गर्दै अहिलेसम्म भाग्यमानी रहेको प्रतिक्रिया दिएका थिए। ह्वाइट हाउसले पनि ट्रम्पकै भनाइलाई आधिकारिक धारणा जनाएको छ।

इरानले सन् २०२० मा अमेरिकी आक्रमणमा मारिएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिने चेतावनी लामो समयदेखि दिँदै आएको छ। यद्यपि, ट्रम्पविरुद्ध हत्या योजनाबारे इरान वा इसराइलले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

यसैबीच, टर्कीबाट फर्कने क्रममा ट्रम्पले सुरक्षा सतर्कताका लागि कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ प्रयोग नगरी पुरानै ‘एयर फोर्स वान’ विमान प्रयोग गरेका थिए। द न्यूयोर्क टाइम्सका अनुसार यो निर्णय अमेरिकी सिक्रेट सर्भिसको सल्लाहमा सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर गरिएको थियो। घटनाक्रमले अमेरिका–इरानबीचको तनाव अझै बढ्न सक्ने विश्लेषण गरिएको छ।
































