
इरानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई अमेरिकालाई सैन्य सहयोग गरेको आरोप लगाउँदै कडा चेतावनी दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका सदस्य इस्माइल कोसारीले बीबीसी फारसीसँग कुरा गर्दै यूएईले इरानका विरोधी शक्तिको पक्षमा उभिएको दाबी गर्दै त्यसको ‘गम्भीर मूल्य चुकाउनुपर्ने’ बताएका छन्।

कोसारीका अनुसार इरानी सशस्त्र बलले यसअघि नै कुनै पनि आक्रमणकारी शक्तिलाई सहयोग गर्ने मुलुकलाई कडा जवाफ दिने चेतावनी दिइसकेको छ। उनले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई यूएईले सहयोग गरेको आरोप लगाउँदै युद्धको अवस्था सिर्जना भए यूएईका समुद्री, हवाई तथा रेल पूर्वाधारसँगै तेल र ग्यास उद्योगहरू पनि सम्भावित निशानामा पर्न सक्ने चेतावनी दिएका छन्।

यसैबीच, इरानले अमेरिकाले आफ्ना विभिन्न क्षेत्रहरूमा आक्रमण तीव्र बनाएको दाबी गरेको छ। इरानी पक्षका अनुसार देशको महत्वपूर्ण बुशेहर आणविक विद्युत् केन्द्रसमेत अमेरिकी निशानामा परेको छ।

सुरक्षा विज्ञहरूले बुशेहरजस्तो संवेदनशील आणविक केन्द्रमा आक्रमण भए त्यसले मध्यपूर्वभर गम्भीर मानवीय, वातावरणीय र सुरक्षा संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। अमेरिका–इरानबीच बढ्दो तनावले खाडी क्षेत्रमा थप अस्थिरता र व्यापक क्षेत्रीय द्वन्द्वको जोखिम बढाएको विश्लेषण गरिएको छ।
































