
डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा निधन भएको छ। प्रहरी चौकीअगाडिको इन्ट्री पोस्टमा ड्युटी गरिरहेका बेला उनी अचानक पेट दुखेपछि बिरामी परेका थिए।

प्रहरीका अनुसार उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको हो।

जोशीको दरबन्दी कञ्चनपुरस्थित वडा प्रहरी कार्यालय महेन्द्रनगरमा रहेको भए पनि हाल उनी डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत थिए। डडेल्धुराको जोगबुडा घर भएका उनी यही महिनाको २७ गते रातिदेखि अचानक पेट दुख्ने समस्याले बिरामी परेका थिए।

उनको मृत्युको यथार्थ कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। घटनापछि प्रहरी संगठन र परिवारजन शोकमा छन्।
































