
अत्तरिया : आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयले प्रभातफेरीसहित विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा जयन्ती मनाएको छ।

पुस्तकालयको आयोजनामा सम्पन्न प्रभातफेरीमा सशस्त्र प्रहरी, विद्यार्थी, आमा समूह, विभिन्न सामाजिक तथा सांस्कृतिक संघ–संस्थाका प्रतिनिधि, साहित्यप्रेमी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली भाषा, साहित्य र राष्ट्रिय संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा आदिकवि भानुभक्तले पुर्याएको योगदानको स्मरण गर्दै नगर परिक्रमा गरेका थिए।
कार्यक्रममा वक्ताहरूले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी जनसाधारणको पहुँचमा पुर्याएर भानुभक्तले नेपाली भाषा र साहित्यलाई नयाँ उचाइ दिएको उल्लेख गरे। उनका कारण नेपाली भाषा घरघरमा पुगेको र राष्ट्रिय एकता, सांस्कृतिक चेतना तथा नेपाली पहिचान सुदृढ बनाउन ऐतिहासिक योगदान पुगेको धारणा व्यक्त गरिएको थियो।


वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यका आदिकविका रूपमा परिचित छन्। एक सामान्य घाँसीबाट प्रेरणा पाएपछि उनले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका उनका कृतिहरू नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन्।
यस वर्ष पनि देशभर विभिन्न साहित्यिक, शैक्षिक तथा सांस्कृतिक संस्थाहरूले प्रभातफेरी, माल्यार्पण, रामायण वाचन र साहित्यिक कार्यक्रममार्फत भानुजयन्ती मनाइरहेका छन्। नेपालबाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न स्थानमा समेत भानुभक्तको जन्मजयन्ती श्रद्धापूर्वक मनाउने परम्परा कायम छ।
अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयले पनि हरेक वर्षझैँ यस वर्ष भानुजयन्तीलाई विशेष कार्यक्रमका साथ मनाउँदै आदिकवि भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गरेको जनाएको छ।
































