
हिन्दू धर्मशास्त्रअनुसार मंगलबार भगवान श्रीगणेशको पूजा, व्रत र आराधना गर्न विशेष शुभ मानिन्छ। कुनै पनि शुभ कार्यको प्रारम्भमा प्रथमपूज्य गणेशको स्मरण र पूजा गर्ने परम्परा रहिआएको छ। श्रद्धापूर्वक गणेशजीको पूजाअर्चना, लड्डु अर्पण तथा मन्त्रजप गर्दा विघ्नबाधा हट्ने, बुद्धि, ज्ञान, सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

धर्मग्रन्थमा गणेशपूजा शुद्ध मन, संकल्प, धूप, दीप, पुष्प, नैवेद्य, आरती र परिक्रमा सहित विधिपूर्वक गर्नुपर्ने उल्लेख गरिएको छ। मंगलबार मासु, मदिरा तथा हिंसाजन्य कार्यबाट टाढा रहन पनि शास्त्रले प्रेरणा दिएको छ।

पद्मपुराणमा वर्णित कथाअनुसार भगवान गणेशले सम्पूर्ण तीर्थको भ्रमण गर्नुको सट्टा माता पार्वती र भगवान शिवको परिक्रमा गरी मातापिताको सर्वोच्च महत्त्व स्थापित गरेका थिए। यही कारण गणेशजीलाई बुद्धि, ज्ञान, भक्ति, विनय र मंगलका प्रतीक मानिन्छ। श्रद्धाभावले ‘ॐ गं गणपतये नमः’ लगायतका मन्त्र जप गर्दा भगवान गणेशको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।































