
नेपाल राष्ट्र बैंकले पुराना बैंक खातामा पनि राष्ट्रिय परिचयपत्र (एनआईडी) अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ। बैंकिङ प्रणालीलाई सुरक्षित, व्यवस्थित र एकीकृत बनाउन एकीकृत निर्देशन–२०८२ संशोधन गर्दै केन्द्रीय बैंकले आगामी २०८३ असोज मसान्तभित्र सबै खातावालाले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर बैंकमा अद्यावधिक गर्न निर्देशन दिएको हो।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई बैंकमै उपस्थित गराउनुपर्ने बाध्यता हटाएर मोबाइल बैंकिङ एप वा अन्य डिजिटल माध्यमबाटै राष्ट्रिय परिचयपत्र सम्बन्धी विवरण अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउनुपर्नेछ। ग्राहकबाट स्वघोषणासमेत लिनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र लिइसकेका नागरिकले तोकिएको समयभित्र विवरण अद्यावधिक नगरेमा त्यस्ता खातामा कारोबार प्रभावित हुन सक्नेछ। यद्यपि, हालसम्म राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकको खाता तत्काल बन्द गरिने छैन। त्यस्ता ग्राहकलाई प्रत्येक ६–६ महिनामा परिचयपत्र बनाएर केवाईसी अद्यावधिक गर्न बैंकहरूले जानकारी गराइरहनुपर्नेछ।

राष्ट्र बैंकले विदेशमा रहेका नेपाली, पूर्ण अशक्त तथा असहाय नागरिक र १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि भने विशेष सहुलियत दिएको छ। उनीहरूले निश्चित सर्त पूरा गरी राष्ट्रिय परिचयपत्रबिनै खाता सञ्चालन गर्न सक्नेछन्। विदेशबाट खाता खोल्ने नेपालीले भने नेपाल फर्किएको ३५ दिनभित्र आफ्नो राष्ट्रिय परिचयपत्र विवरण बैंकमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।





























