
सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। बिहीबार संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा वैकल्पिक सरकार गठनका लागि अन्य राजनीतिक दलसँग संवाद अघि बढाउने निर्णय गरेको हो।

बैठकले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। साथै, नयाँ राजनीतिक निकास ननिस्कुञ्जेल वर्तमान सरकारले दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्नुपर्ने धारणा पनि नेकपाले व्यक्त गरेको छ।

मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर विवाद चुलिएपछि बुधबार एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका थिए। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो।

समर्थन गुमाएपछि मुख्यमन्त्री शाहले बजेट पारित गराउन नेकपासँग सहयोग मागेका थिए। तर नेकपाले वर्तमान अवस्थामै बजेट पारित गर्न सहयोग गर्न नसकिने स्पष्ट गर्दै नयाँ राजनीतिक समीकरणमार्फत सरकार गठनको पहल गर्ने रणनीति अघि सारेको छ। यससँगै सुदूरपश्चिमको राजनीति नयाँ मोडमा पुगेको छ।





























