
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर धार्मिक आस्था, स्नान, दान तथा विभिन्न सांस्कृतिक परम्परासहित मनाइँदैछ। सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाइने परम्परा रहिआएको छ। आजदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले दक्षिणायन सुरु भएको धार्मिक विश्वास छ, जसलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ लिइन्छ।

साउने सङ्क्रान्तिसँगै ग्रामीण क्षेत्रमा ‘लुतो फाल्ने’ परम्परा पनि निभाइँदैछ। असारभरि खेतबारीमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ औषधीय गुण भएका कागती, पानीअमला, अम्बा, नासपाती, काग भलायो, कुकरडाइनो र लुतेझारजस्ता वनस्पति प्रयोग गरी ‘कण्डारक’को पूजा गर्ने तथा अगुल्टो फाल्ने चलन रहेको संस्कृतिविद्हरू बताउँछन्। कतिपय स्थानमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने परम्परा पनि कायम छ।

साउन महिनालाई भगवान् शिवको विशेष आराधनाको महिना मानिने भएकाले आजदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। विशेषगरी महिलाले हरियो चुरा, हरिया वस्त्र र मेहन्दी लगाएर हरियाली, समृद्धि र सौभाग्यको कामना गर्ने परम्परा पनि साउने संस्कृतिको महत्वपूर्ण पक्ष मानिन्छ।

साउने सङ्क्रान्तिको अवसरमा पशुपतिनाथ मन्दिर सहित देशभरका प्रमुख शिवालयमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। धार्मिक आस्था, स्वास्थ्यसम्बन्धी लोकविश्वास र सांस्कृतिक परम्परालाई जोड्ने यो पर्व नेपाली समाजमा विशेष महत्वका साथ मनाइँदै आएको छ।




























