
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन ‘स्रष्टा परिचय कोश’ निर्माण गर्ने निर्णय गरेको छ। प्राज्ञ परिषद्को असार ३२ गते बसेको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न महत्त्वपूर्ण कार्यक्रम स्वीकृत गर्दै सुदूरपश्चिमका स्रष्टाहरूको व्यक्तिगत विवरण संकलन गरी व्यवस्थित अभिलेख तयार गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानले प्रदेशभर क्रियाशील साहित्यिक तथा सांस्कृतिक संघ–संस्थाको विवरण संकलन गरी सूचीकृत गर्ने तथा आफ्ना गतिविधि, अनुसन्धान र साहित्यिक सामग्री समेटिएको त्रैमासिक बुलेटिन नियमित रूपमा प्रकाशन गर्ने योजना पनि अघि सारेको छ।

सदस्य सचिव सुरत बहादुर रावत ‘डोटेली कान्छा’का अनुसार भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला र सङ्गीतको संरक्षण, संवर्द्धन तथा विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिनेछ। प्रतिष्ठानले अनुसन्धान, मौलिक सृजना र समाजोपयोगी कृतिको विकाससँगै प्रदेशका प्रतिभा, स्रष्टा र विद्वानको सम्मान गर्दै आफ्ना सम्पूर्ण गतिविधिलाई व्यवस्थित अभिलेखीकरणका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।





























