
अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित गोदावरीका धार्मिक तथा पर्यटकीय क्षेत्रमा वृक्षरोपण अभियान सुरु गरेको छ।

अभियानअन्तर्गत वनदेवी मन्दिर, लामीताल परिसर लगायतका विभिन्न स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपिएको रास्वपा गोदावरी–१ का वडा सचिव तीलकराज भण्डारीले जानकारी दिए। उनका अनुसार अभियानको पहिलो दिन करिब ४ सय बिरुवा रोपिएको छ।

समितिले यो अभियानलाई एकदिने कार्यक्रमका रूपमा सीमित नराखी आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। स्थानीय स्तरमा हरियाली विस्तार, वातावरण संरक्षण तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको सौन्दर्य अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यले अभियान अघि बढाइएको पार्टीको भनाइ छ।






























