
अत्तरियाः धनगढी उपमहानगरपालिका–४, भगवती टोलस्थित शिव–गौरी धाम परिसरमा साउन ४ गते आइतबार विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

शिव–गौरी धाम संरक्षण समाजको आयोजनामा तथा श्री देवी दल गण, व्यारेक, कैलालीको विशेष सहयोगमा आयोजित उक्त कार्यक्रममा भगवती टोल संस्था, नमस्ते युथ क्लब, भगवती चेतनशील आमा समूह, पतञ्जलि योग समूह तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय समाजसेवी, युवा, आमा समूह, टोलवासी, पतञ्जलि योग समूहका सदस्य तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षार्थीहरूले उत्साहपूर्वक श्रमदान गर्दै शिव–गौरी धाम परिसरको सरसफाइ, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणमा योगदान दिएका थिए।

सहभागीहरूले धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता कायम राख्ने, वातावरण संरक्षण गर्ने र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले धाम परिसरमा सरसफाइ गरेका थिए। उक्त अभियानले स्थानीय समुदायमा सरसफाइप्रति सकारात्मक चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
आयोजकका अनुसार धार्मिक तथा सार्वजनिक सम्पदाको संरक्षण, स्वच्छ वातावरणको प्रवर्द्धन तथा समुदायमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।
शिव–गौरी धाम संरक्षण समाजका सचिव इन्द्रबहादुर सिंहले समुदायका विभिन्न संघ–संस्था, सहयोगी निकाय तथा सहभागी सम्पूर्ण महानुभावहरूको सक्रिय सहभागिताका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले सरसफाइ अभियानमा सहयोग पुर्याउने श्री देवी दल गण, व्यारेक, कैलाली, भगवती टोल संस्था, नमस्ते युथ क्लब, भगवती चेतनशील आमा समूह, पतञ्जलि योग समूह, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रशिक्षार्थीहरू तथा सम्पूर्ण सहभागीहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।
साथै, सचिव सिंहले शिव–गौरी धाम संरक्षण समाजको साधारण सभा यही मिति २०८३ साल साउन ९ गते आयोजना हुने जानकारी दिँदै सम्पूर्ण सदस्य, स्थानीयवासी, शुभेच्छुक तथा सरोकारवाला महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ। उहाँले धामको संरक्षण, विकास र व्यवस्थापनका लागि सबैलाई आजीवन सदस्यता लिएर सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ।
































