
रुसी सेनाले युक्रेनको राजधानी किभमा रातारात ब्यालिस्टिक क्षेप्यास्त्रसहित भीषण आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करिब १:३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार आक्रमणबाट किभका पाँच जिल्लामा आगलागी भएको छ। आवासीय घर, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारी साधनमा क्षति पुगेको छ। उद्धारकर्मीले स्भियातोसिन्स्की र शेभचेन्किभ्स्की जिल्लाबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा उद्धार गरेका थिए। आगो नियन्त्रणका क्रममा एक गैरआवासीय भवनबाट एक जनाको शव फेला परेको जनाइएको छ।

यसबीच, रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रभावकारी मानिने अमेरिकी ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीको अभाव युक्रेनले झेलिरहेका बेला रुसले किभमाथिको आक्रमण तीव्र बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादनका लागि अनुमति दिन तयार रहेको बताएका छन्। यद्यपि, यसको कार्यान्वयन प्रक्रिया र समयसीमा भने अझै स्पष्ट भइसकेको छैन।

































