
काबुल: पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरुभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा पाँच अफगान नागरिकको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन्। स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार उनीहरू सीमा पार गर्ने क्रममा मरुभूमिमा अलपत्र परेका थिए।

सुरक्षाकर्मीले निमरोज प्रान्तको मरुभूमिबाट पाँच जनाको शव फेला पारेका छन्। मृतकहरू हेल्मन्ड र निमरोज प्रान्त हुँदै इरान जान हिँडेको १९ सदस्यीय समूहका रहेका बताइएको छ।
स्थानीय अधिकारीका अनुसार समूह मरुभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मी, पानीको अभाव र कठोर मौसमका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।




बेपत्ता रहेका १४ जनाको खोजीका लागि सुरक्षाकर्मीले व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको तथा बेपत्ताको खोजीलाई तीव्र बनाइएको अधिकारीहरूले जनाएका छन्।



































