
किभ: रुसले युक्रेनको राजधानी किभमाथि युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमध्ये एक गरेको छ। शनिबार रातभर भएको श्रृंखलाबद्ध आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्। आवासीय भवन, सुपरमार्केट, छात्रावास र गोदामहरूमा व्यापक क्षति पुगेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई “किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक” भन्दै रुसले निरन्तर आक्रमण तीव्र बनाइरहेको बताएका छन्। युक्रेनी सेनाका अनुसार रुसले इस्कान्देर र हाइपरसोनिक जिर्कोनसहित ४१ वटा क्षेप्यास्त्र तथा १२५ वटा ड्रोन प्रहार गरेको थियो। तीमध्ये १८ वटा क्षेप्यास्त्र र १०८ वटा ड्रोन खसालिएको युक्रेनको दाबी छ।

किभका मेयर भिताली क्लिच्कोका अनुसार दुई गोदाममा आगलागी भएको छ भने दमकलकर्मी आगो नियन्त्रणमा जुटेका छन्। जेलेन्स्कीले पछिल्लो एक सातामै रुसले करिब १,४५० ड्रोन, १,६४० भन्दा बढी निर्देशित बम र ९९ क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।

युक्रेनले रुसको ठूलो अनलाइन खुद्रा कम्पनीका दुई गोदाममा ड्रोन आक्रमण गरेपछि रुसले त्यसको जवाफस्वरूप किभमाथि यो व्यापक आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।































