
अत्तरियाः सुदूरपश्चिम प्रदेशमा लगातार वर्षा भइरहेका बेला जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाले आगामी २४ घण्टा थप जोखिमपूर्ण हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार बिहानदेखि प्रदेशका हिमाली, पहाडी तथा तराईका अधिकांश जिल्लामा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा भइरहेको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार पछिल्लो मापनमा कञ्चनपुरको कान्तिपुर बेलौरीमा ७९.६ मिलिमिटर र अत्तरियामा १२ मिलिमिटर वर्षा रेकर्ड भएको छ। निरन्तर वर्षाका कारण प्रदेशका प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव चेतावनी तह नजिक पुगेको छ।

मौसमविद्हरूका अनुसार सोमबार वर्षाको मात्रा अझ बढ्ने सम्भावना रहेकाले नदी तथा खोलाको जलसतह एक्कासि बढ्न सक्छ। यसले तटीय क्षेत्र, डुबान हुने स्थान र पहिरोको जोखिम रहेका क्षेत्रमा थप खतरा निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

जल तथा मौसम विज्ञान कार्यालयले नदी किनार, होचा भूभाग तथा बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनालाई अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। आज रातिदेखि सोमबारसम्म प्रदेशभर वर्षा कायमै रहने भएकाले सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।






























