कांग्रेसमा शक्ति प्रदर्शनको तयारी : देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

Image
Nisarga Hospital

नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने औपचारिक घोषणा गरेको छ। आइतबार चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय राजनीति र पार्टीको भावी दिशा तय गर्न भेला आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए।

CP Hospital Dhangadhi

देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकता सुदृढ बनाउन सात महिना बितिसक्दा पनि कुनै प्रभावकारी पहल नगरेको आरोप लगाएको छ। अदालतको फैसला आएको चार महिना बितिसक्दा समेत नेतृत्वले सहमति र एकताका लागि ठोस कदम चाल्न नसकेको भन्दै अब पार्टीभित्र व्यापक बहस आवश्यक भएको समूहको निष्कर्ष छ।

पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्तिमा मुलुकको राजनीति अनपेक्षित मोडतर्फ अग्रसर भइरहेका बेला स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरिएको छ। यस्तो अवस्थामा कांग्रेसभित्र बलियो एकता कायम गर्दै लोकतन्त्र, नागरिक अधिकार र पार्टीको वैचारिक स्पष्टताका लागि राष्ट्रिय भेला अपरिहार्य भएको देउवा समूहको भनाइ छ।

nawajiwan
Attariya Hospital

समूहले संस्थापन पक्षमाथि सार्वजनिक मञ्चहरूबाट सहकर्मी राजनीतिक दललाई उत्तेजित बनाउने अभिव्यक्ति दिँदै लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाएको छ।

राष्ट्रिय भेलाको मिति, स्थान र समय भने आगामी साउन ६ गते जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा सार्वजनिक गरिने जनाइएको छ। देउवा समूहका अनुसार उक्त भेलाले पार्टीको आगामी नीति, साङ्गठनिक रणनीति र राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्नेछ। कांग्रेसभित्र बढ्दो ध्रुवीकरणबीच देउवा समूहको यो घोषणा आगामी राजनीतिक समीकरण र पार्टीको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।