
फिफा विश्वकप–२०२६ को बहुप्रतीक्षित फाइनल खेल हिमालय टेलिभिजनले निःशुल्क प्रसारण गर्ने भएको छ। दर्शकहरूले हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपमार्फत कुनै शुल्क नतिरी अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त प्रत्यक्ष हेर्न सक्नेछन्।

हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार विश्वकपको फाइनल खेल हेर्नबाट कुनै पनि नेपाली दर्शक वञ्चित नहोस् भन्ने उद्देश्यले सबै पेवाल हटाएर निःशुल्क प्रसारण गर्ने निर्णय गरिएको हो। यसअघि हिमालय स्पोर्टस् र डिगो एपमा सदस्यता लिएका प्रयोगकर्ताले मात्र खेल हेर्न पाउने व्यवस्था थियो।

व्यवस्थापनले फाइनल खेलका लागि सबै प्रतिबन्ध हटाउँदै सबै दर्शकलाई सहज पहुँच उपलब्ध गराएको जनाएको छ।नेपाली समयअनुसार आज राति १२:४५ बजे हुने फाइनलमा अर्जेन्टिना र स्पेन उपाधिका लागि आमनेसामने हुँदैछन्। विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतिस्पर्धाको अन्तिम खेललाई लिएर विश्वभर उत्साह उच्च छ।
































