
अत्तरियाः विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले यसअघि गठन भइसकेको अन्तर–पालिका स्रोत साझेदारी संयन्त्रलाई आज पाँच स्थानीय तहले समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्दै औपचारिक कार्यान्वयनमा ल्याएका छन्।

गोदावरी नगरपालिकाको संयोजकत्वमा चुरे गाउँपालिका, गौरीगंगा नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले संयुक्त रूपमा हस्ताक्षर गर्दै विपद्का बेला जनशक्ति, दमकल, एम्बुलेन्स, भारी उपकरण, उद्धार सामग्री, सञ्चार प्रणाली तथा अन्य आवश्यक स्रोत–साधन आपसी सहकार्यमा परिचालन गर्ने प्रतिबद्धता जनाएका हुन्।

गोदावरी नगरपालिकाको आयोजनामा युरोपेली आयोगको मानविय सहायता विभाग (ECHO) को आर्थिक सहयोग तथा युएनडीपी, युएन वुमन, युनिसेफ, हेन्डीक्याप इन्टरनेसनल र ग्रामीण महिला विकास तथा एकता केन्द्र (RUWDUC) द्वारा सञ्चालित सुपर दोस्रो चरण परियोजनाको सहकार्यमा आयोजित कार्यशालामा पाँचै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन शाखाका फोकल व्यक्ति तथा सरोकारवालाको सहभागिता रहेको थियो।

समझदारीअनुसार स्थानीय तहहरूबीच विपद् पूर्वतयारी, सूचना आदान–प्रदान, संयुक्त प्रतिकार्य, तालिम, मोक ड्रिल, राहत, पुनर्स्थापना, क्षमता अभिवृद्धि तथा स्रोत साझेदारीलाई संस्थागत रूपमा अघि बढाइनेछ। साथै प्रत्येक दुई–दुई महिनामा बैठक बस्दै साझा कार्ययोजना कार्यान्वयनको समीक्षा गरिने व्यवस्था गरिएको छ।
कार्यक्रमका सभाध्यक्ष एवं गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले विपद् व्यवस्थापनमा एक्लो प्रयासभन्दा सामूहिक सहकार्य प्रभावकारी हुने उल्लेख गर्दै आजको हस्ताक्षरले पाँच पालिकाबीचको सहकार्यलाई कानुनी र संस्थागत आधार प्रदान गरेको बताउनुभयो। उहाँले यस अभ्यासले भविष्यमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, समन्वित र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो।
सम्बन्धित समाचार …
विपद् व्यवस्थापनका सहकार्य सुदृढका लागि अन्तर–पालिका स्रोत साझेदारी संयन्त्र गठन



































