
मध्यपूर्वमा इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले ‘अपरेसन नस्र–२’ अन्तर्गत बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। आईआरजीसीका अनुसार अमेरिकी ड्रोन मर्मत केन्द्र, सेख इसा एयर बेस, सलमान बन्दरगाहस्थित पाँचौँ फ्लिटका कमान्ड केन्द्र, इन्धन भण्डार, आरिफजान बेस, अली अल–सालेम एयर बेस र पोर्ट अब्दुल्लाहका सैन्य संरचनालाई लक्षित गरिएको हो।

यता अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले लगातार नवौँ रात इरानभित्रका विभिन्न सैन्य अखडामा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ। अमेरिकाले सैन्य कमान्ड केन्द्र, तटीय निगरानी प्रणाली, वायु रक्षा संरचना र क्षेप्यास्त्र प्रक्षेपण पूर्वाधारलाई निशाना बनाएको जनाएको छ।

इरानले उर्मिया, तब्रिज र बुसेहर क्षेत्रमा अमेरिकी आक्रमण भएको स्वीकार गर्दै तब्रिजमा एक जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाएको छ।

यसबीच इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकामाथि शान्तिको कुरा गर्दै युद्धलाई उक्साउने दोहोरो नीति अपनाएको आरोप लगाएका छन्। उनले इरानले अमेरिकी रणनीतिबारे पूर्ण तयारी गरिसकेको बताएका छन्। दुवै पक्षबीच जारी तीव्र आक्रमणले मध्यपूर्वमा व्यापक युद्धको जोखिम झन् बढाएको विश्लेषण गरिएको छ।
































