
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी, रजिस्ट्रार डा. भीम चन्द तथा सिनेट सदस्य डा. डम्मर बहादुर पालसँग भेटघाट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

नगरपालिकाको कार्यालयमा भएको भेटका क्रममा विश्वविद्यालयको समग्र विकास, गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार तथा एमबीबीएससहितका चिकित्सा शिक्षाका कार्यक्रम यथाशीघ्र सञ्चालन गर्ने विषयमा विस्तृत र सकारात्मक छलफल भएको थियो।
नगर प्रमुख भट्टले गोदावरीमा रहेको यो विश्वविद्यालय सुदूरपश्चिम मात्र नभई समग्र देशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको भविष्यसँग जोडिएको महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै यसको शीघ्र सञ्चालन र विकासका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।


उहाँले विश्वविद्यालयले पूर्ण रूपमा गति लिएपछि दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, स्थानीय स्तरमा रोजगारी सिर्जना, स्वास्थ्यसम्बन्धी अनुसन्धानको विकास तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख भट्टले गोदावरी नगरपालिकाको तर्फबाट विश्वविद्यालयको पूर्वाधार विकास, आवश्यक समन्वय तथा सहकार्यमा निरन्तर साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। भेटघाटले विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै सुदूरपश्चिमलाई स्वास्थ्य शिक्षाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
































