अस्पताल जान्छु भन्दै घरबाट निस्किएकी पार्वती ऐर ११ दिनदेखि बेपत्ता, परिवारको घर फर्किन भावुक अपिल

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–७, जमुनानगर हरैयाकी ४४ वर्षीया पार्वती बगटी (ऐर) विगत ११ दिनदेखि बेपत्ता भएकी छन्। असार २६ गते “अस्पताल जान्छु” भन्दै घरबाट निस्किएकी उनी त्यसयता सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार घरबाट निस्कँदा उनीसँग मोबाइल फोन पनि थियो। तर त्यसयता फोन स्विच अफ रहेको र कुनै सम्पर्क हुन नसकेको जनाइएको छ।

CP Hospital Dhangadhi

पार्वतीका श्रीमान डम्बरबहादुर ऐर रोजगारीका सिलसिलामा भारतमा सवारी चालकका रूपमा कार्यरत छन्। श्रीमती बेपत्ता भएको खबर पाएलगत्तै उनी स्वदेश फर्किएका छन्। उनले आफू परदेशमा रहे पनि परिवारको आवश्यकताअनुसार खर्च पठाउँदै आएको र पहाडबाट तराईमा घरजग्गासमेत खरिद गरी परिवारको भविष्यका लागि प्रयास गरेको बताए। एक्कासि श्रीमती सम्पर्कविहीन भएपछि आफू निकै चिन्तित बनेको उनको भनाइ छ।

पार्वतीका ८ र १३ वर्षका दुई छोरा छन्। आमा बेपत्ता भएपछि उनीहरू अत्यन्तै चिन्तित बनेका छन्। उनीहरूले जहाँ भए पनि सकुशल घर फर्किन आफ्नी आमासँग भावुक आग्रह गरेका छन्।

nawajiwan
Attariya Hospital

घरमा रहेकी वृद्ध सासुले पनि नातिहरूको अवस्था दयनीय बनेको बताउँदै बुहारीलाई जतिसक्दो छिटो घर फर्किन अनुरोध गरेकी छन्। यस्तै, बेपत्ता महिलाकी देउरानीले पनि साना बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै घर फर्किन आग्रह गरेकी छन् ।
स्थानीयका अनुसार पार्वती घरबाट निस्कँदा रातो रङको सुट लगाएकी थिइन् भने हातमा प्लास्टिकको झोला बोकेकी थिइन्।

परिवारले पार्वतीलाई कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालय वा ९८६८५५३१२६ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन सबैमा अनुरोध गरेको छ । साथै, जहाँ जुनसुकै अवस्थामा भए पनि सुरक्षित रूपमा घर फर्किन परिवारले हार्दिक अपिल गरेको छ ।