हर्मुज जलसन्धिलाई लिएर विश्व चिन्तित: अमेरिकाको कडा चेतावनी, ऊर्जा सुरक्षा र क्षेत्रीय तनावबारे आसियानमा गहन छलफल

Image
Nisarga Hospital

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्दै जहाजबाट शुल्क असुल्ने दाबीलाई विश्व अर्थतन्त्रका लागि गम्भीर खतरा र अन्तर्राष्ट्रिय व्यवस्थाविरुद्धको खतरनाक नजिर भएको बताएका छन्। फिलिपिन्सको राजधानी मनिलामा जारी आसियान विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै उनले कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गरेर शुल्क असुल्ने वा अस्वीकार गर्ने जहाजमाथि कारबाही गर्ने अवस्था स्वीकार्य नहुने स्पष्ट पारे।

CP Hospital Dhangadhi

रुबियोले इरानले शान्ति सम्झौताका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउँदै तेहरानले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्ताको प्रयास गरिरहेको बताए। यद्यपि, अमेरिकाले तत्काल शान्ति वार्ता पुनः सुरु गर्ने कुनै संकेत नदिएको उनले स्पष्ट गरे।

बैठकमा सहभागी रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका–इरान तनावको शीघ्र समाधान आवश्यक रहेको बताउँदै जारी द्वन्द्वले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा गम्भीर असर पारिरहेको उल्लेख गरे। अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले पनि युद्धविराम, संवाद र हर्मुज जलसन्धि खुला राख्नुपर्नेमा जोड दिइन्।

nawajiwan
Attariya Hospital

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार हर्मुज जलसन्धिबाट विश्वको ठूलो हिस्सा कच्चा तेल र एलएनजी आपूर्ति हुने भएकाले कुनै पनि अवरोधले विशेषगरी एसियाली मुलुकहरूमा ऊर्जा सङ्कट निम्त्याउन सक्छ।

यसैबीच रुबियोले क्वाड समूहका विदेशमन्त्रीहरूसँग क्षेत्रीय सुरक्षा, समुद्री स्वतन्त्रता र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाबारे छलफल गरेका छन्। उनले रुसी विदेशमन्त्री लाभरोभसँग युक्रेन युद्ध र भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग क्षेत्रीय सुरक्षा तथा अमेरिका–भारत सम्बन्धबारे पनि भेटवार्ता गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छुट्टै भेटले पनि सम्मेलनलाई थप कूटनीतिक महत्व दिएको छ।