
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग भएको असैनिक परमाणु सहकार्य सम्झौता इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने ‘इब्राहिम एकोर्ड्स’मा साउदी सहभागी भए मात्र लागू हुने स्पष्ट पारेका छन्। सम्झौता सार्वजनिक भएको भोलिपल्ट ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत यस्तो सर्त राख्दै साउदीले इजरायलसँग सम्बन्ध सुधार नगरे सम्झौता अघि नबढ्ने चेतावनी दिएका हुन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले पनि ट्रम्पले यस विषयमा साउदी नेतृत्वसँग यसअघि नै छलफल गरिसकेको र इब्राहिम एकोर्ड्समा सहभागिता सम्झौताको प्रमुख आधार रहेको बताइन्। यद्यपि, ट्रम्पको पछिल्लो अभिव्यक्तिबारे साउदी अरेबियाले औपचारिक प्रतिक्रिया दिएको छैन।

यसअघि अमेरिकी ऊर्जा मन्त्रालयले दुवै देशबीच अर्बौं डलर बराबरको दीर्घकालीन शान्तिपूर्ण परमाणु सहकार्य तथा नागरिक परमाणु कार्यक्रम सञ्चालनसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर भएको जनाएको थियो। सम्झौता कार्यान्वयनका लागि अमेरिकी संसद्को स्वीकृति आवश्यक हुनेछ।

यसबीच केही सञ्चारमाध्यमले सम्झौताअनुसार साउदीलाई आफ्नै भूमिमा युरेनियम प्रशोधन गर्न अनुमति दिइने दाबी गरेका छन्। तर ट्रम्पले त्यस्ता समाचारको खण्डन गर्दै “कुनै पनि प्रकारको युरेनियम प्रशोधन हुने छैन” भन्दै अमेरिका असैनिक परमाणु संरचनाको पक्षमा भए पनि संवेदनशील प्रविधि हस्तान्तरणमा सावधानी अपनाइने बताएका छन्।
































