
अविरल वर्षापछि खसेको पहिरोका कारण बाजुराको प्रमुख साँफे–मार्तडी सडक शुक्रबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सेलाघाट, राप्का, वीरे खोला र कारागारमुनि क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।

प्रहरीका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार बिहान करिब ५–६ बजेतिर परेको लगातार वर्षाले विभिन्न स्थानमा पहिरो खस्दा सडक सञ्चालन ठप्प भएको छ। सडक अवरुद्ध भएपछि मार्तडीतर्फ गइरहेका सबै सवारीसाधन तिपाडामा रोकिएका छन्।

पहिरोका कारण जडाङ्गा, राप्कालगायतका केही बस्तीका घरसमेत जोखिममा परेका छन्। घटनास्थलमा प्रहरी टोली परिचालन भइसकेको छ भने सडक खुलाउन पहिरो पन्छाउने तयारीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले थप पहिरो खस्ने जोखिमसमेत रहेको भन्दै स्थानीयवासी र यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।































