
धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै शुक्रबार पत्र दिएको छ। समितिका अध्यक्ष मुक्तिनाथ पन्तले डा. केसी बस्नका लागि आएको जानकारी गराए पनि पूर्वसूचना बिना धर्मशालामै अनशन सुरु गरेको र त्यसपछि विभिन्न पक्षबाट दबाब आएपछि स्थान खाली गर्न अनुरोध गरिएको बताए। यद्यपि, दबाब दिने पक्षबारे उनले खुलाउन चाहेनन्।

यसअघि अनेरास्ववियु कैलालीका अध्यक्ष कबेर खड्काले पनि धर्मशालामा अनशन बस्न नदिन व्यवस्थापन समितिसँग आग्रह गरेका थिए।

यता, डा. केसीका सहयोगी डा. अमृत जैसीले भने सत्याग्रह सुरु गर्नुअघि नै धर्मशालामा बस्ने विषयमा व्यवस्थापनलाई जानकारी गराइएको दाबी गरेका छन्। अहिले किन स्थान छाड्न भनिएको हो भन्नेबारे स्पष्ट जानकारी नआएको उनले बताए।

धर्मशाला खाली गर्न पत्र प्राप्त भएपछि डा. केसी पक्ष अबको रणनीति र सत्याग्रहको स्थानबारे आन्तरिक छलफलमा जुटेको छ। डा. केसी पाँचबुँदे मागसहित बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा छन्।
































