
अविरल वर्षापछि बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान क्षेत्रमा आएको बाढी बस्तीमा पसेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार बिहीबार राति प्रहरी टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरी प्रभावित परिवारलाई सरसामानसहित सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।

हाल उनीहरूलाई नजिकैका सुरक्षित स्थानीय घरहरूमा अस्थायी रूपमा राखिएको छ। बाढीका कारण कम्तीमा तीन घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रको अवस्था निरन्तर निगरानीमा राखिएको छ।

यता, लगातारको वर्षासँगै गएको पहिरोले बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको सडक अवरुद्ध भएको छ। सडक खुलाउने कार्य सम्बन्धित निकायले तीव्र रूपमा अघि बढाइरहेको प्रहरीले जनाएको छ।
































