
अत्तरियाः कैलारी गाउँपालिका वडा नं ५ बन्दरगौडी कटैनी नदीमा बाढीबाट हुने कटानी तथा डुबान नियन्त्रणका लागि जैविक तटबन्ध तथा सामुदायिक वृक्षारोपण गरिएको छ । वर्षेनी नदी कटान र डुबानको जोखिम झेल्दै आएका बन्दगौडी क्षेत्रका स्थानीय सिमान्तकृत कुमाल समुदायले यसपटक मनसुन शुरु हुनुअगाबै जैविक तटबन्ध निर्माण गरेका हुन ।

कैलारी गाउँपालिका वडा नं ५ को बन्दरगौडीमा कटैनी नदीको कटान र डुबानले वर्षेनी वितण्डा मच्चाउने गरेको छ । स्थानीय बन्दरगौडी बिपद व्यवस्थापन समिती टास्क्फोर्सकी अध्यक्ष संगीता कुमालका अनुसार वर्षेनी करिब ५१ घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्ष जोखिममा पर्ने गरेका छन् भने हालसम्म २० विघाभन्दा बढी उब्जाउ जमिन नदीले कटान गरिसकेको छ । वर्षातका समयमा लगाईएका खेतीपाती समेत बर्बाद हुने गरेको,वर्षनी डुबान र कटानको समस्याले गर्दा यहाँका बासिन्दाहरु विस्थापित समेत भएका छन् । जैविक तटबन्ध निर्माण तथा सामुदायिक वृक्षारोपणपछि यस क्षेत्रका बासिन्दाले ठूलो राहत र सुरक्षा पाउने अपेक्षा गरेका छन् । विपद टास्कफोर्स अध्यक्ष कुमालले खुशी हुदै भन्नुभयो ।

उक्त तटबन्धबाट बन्दगौडीका ५१ घरधुरी प्रत्यक्ष र मुक्त कमैया सपनाशिविरटोलका गरी करिब ४८ घरधुरी अप्रत्यक्ष रुपमा लाभावन्तित भएका छन् ।
बन्दरगौडी विपद ब्यवस्थापन समिती सचिव चम्फा कुमालले खुशी हुदै भन्नुभयो हामीले विपद समितीमा छलफल गर्यौ श्रमदान गरेर भएपनि बस्ती जोगाउनुपर्छ भन्ने निर्णय लियौ वडा कार्यालय,पालिका र बहुउद्धेश्य विकास समाज डडेल्धुरा संग समन्वय एंव प्राविधिक सल्लाह सुझाव गरेर बजेट ल्याऔँ, अहिले त्यसैअनुरुप जैविक तटबन्धको काम सम्पन्न भएको हो ।
कैलारी गाउँपालिका र NCID को सहयोगमा बहुउद्धेश्यीय विकास समाज,डडेल्धुरा द्धारा संचालित जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत कैलारी गाउँपालिका वडा नं ५ बन्दगौडी कटैनी नदीमा ७० मिटर जैविक तटबन्ध निर्माण गरिएको हो । स्थानीय जनश्रमदानबाट निर्माण भएको उक्त जैविक तटबन्ध कैलारी गाउँपालिकामै अहिले सम्मकै सबैभन्दा ठूलो र लामो तटबन्ध हो ।
कैलारी गाउँपालिकाको कार्यालयबाट ५ लाख ५० हजार, बहुउद्धेश्यीय विकास समाज,डडेल्धुराबाट ४ लाख ५० हजार र बन्दरगौडी विपद व्यवस्थापन समिती टास्कफोर्स र स्थानीय समुदाय,करिब ४ लाख ४७ हजार २ सय ५ बराबरको जनश्रमदान गरी जम्मा १४ लाख ४७ हजार २ सय ५ मा उक्त जैबिक तटबन्ध निर्माण गरिएको हो ।
कैलारी गाउँपालिका, NCID बहुउद्धेश्यीय विकास समाज,डडेल्धुरा र स्थानीय विपद व्यवस्थापन समिती टास्कफोर्सको त्रिपक्षीय साझेदारी सम्झौता अनुरुप निर्माण भएको हो।
उक्त तटबन्धमा कैलारी गाउँपालिका वडा नं ५ बन्दरगौडीका ५१ घरधुरीले श्रमदान गरेका थिए ।

कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले स्थानीय श्रोत साधनको प्रयोग र समुदायको सकृय श्रमदानले गर्दा यो तटबन्ध परम्परागत संरचना भन्दा दिगो र वातावरणमैत्री हुने बताउनुभयो । उहाँले जैविक तटबन्ध नदीको बहाबलाई प्राकृतिक रुपमै व्यवस्थापन गर्ने हुनाले यसले दिर्घकालिन रुपमै भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकोले आफूहरुले पालिकाबाट ६ लाख बजेट सहयोग गरेको बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो MPDS ले यसअघि पनि पालिकासगको समन्वय र साझेदारीमा कैलारी गाउँपालिकाका विभिन्न वडाहरुमा जैविक तटबन्धको काम एकदमै पारदर्शि र जवाफदेही तवरल प्रभावकारी रुपमा गरेकोले संस्थाले प्रशंसनिय काम गरेको छ ।
कैलारी गाउँपालिका वडा नं ५ का अध्यक्ष विष्णु प्रसाद चौधरीले जैविक तटबन्धको यस प्रविधीले स्थानीयस्तरमै सीप र स्वामित्वको विकास गर्ने भएकाले आगामी दिनमा समुदाय आफैले यस्ता संरचनाको मर्मत सम्भार र संरक्षण गर्न सक्ने बताउनुभयो ।
परियोजना संयोजक श्री शिवराज पाठकले जैविक तटबन्धले विपद जोखिम न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले जैविक तटबन्ध स्थानीय श्रोतसाधनको प्रयोग गरी निर्माण गरिने भएकाले यो कम खर्चिलो र वातावरणमैत्री भएको बताउनुभयो ।
परियोजनाका डिआरआर टेक्नीकल एक्सपर्ट राजेन्द्र रैकाले समुदायस्तरमा जैविक तटबन्ध निर्माणका लागि छलफल एंव प्राविधिक रुपमा अभिमुखीकरण गरिएको र उक्त जैविक तटबन्ध तथा सामुदायिक वृक्षरोपणले भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षण,नदी कटानको जोखिम न्यूनिकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
बन्दरगौडी विपद व्यवस्थापन समिती टास्कफोर्सको अगुवाईमा जैविक प्रविधीको प्रयोग गरी तटबन्ध तथा वृक्षारोपण भएपछि जोखिममा रहेका स्थानीयस्तरमा खुशीयाली छाएको छ ।
विपद टास्कफोर्सको अगुवाईमा निर्माण भएको तटबन्धको स्थानीय सरकारका जनप्रतिनिधी,प्राविधिक,समुदायका अगुवा र सरोकारवाला निकायहरुले अवलोकन अनुगमन गरी विपद टास्कफोर्स र स्थानीयहरुलाई धन्यवाद दिनुका साथै उक्त कार्यको प्रशंसा समेत गरेका थिए ।
यस वाहेक बन्दरगौडी विपद व्यवस्थापन समिती टास्कफोर्स विपद जोखिम न्यूनिकरण,जैविक विविधता वातावरण संरक्षण र सम्वद्धर्न लागि समुदाय स्तरमा जनचेतना अभिृवृद्धि गर्ने कार्यमा समेत निरन्तर कृयाशिल रहेको पाईएको छ ।

































