
डडेल्धुरा: स्याउले–अनारखोली सडक खण्डमा सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ १५/१५ मिटर ‘राइट अफ वे’ कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सडक विभागमार्फत सरकारसमक्ष उक्त सिफारिस पठाउने सहमति गरेको हो।

बैठकले यसअघि मुआब्जा वितरण भइसकेको अवस्था, सर्वोच्च अदालतको फैसला, अमरगढी नगरपालिकाको निर्णय, सर्वदलीय सहमति तथा बजार क्षेत्रको भौगोलिक अवस्थालाई आधार मानेर साविककै १५/१५ मिटर सडक सीमा कायम गर्नुपर्ने निष्कर्ष निकालेको हो।

यस्तै, अमरगढी नगरपालिकाले १५/१५ मिटर पछाडि निर्माण भएका तथा आगामी घरहरूको कानुनी प्रक्रिया पूरा गरी नक्सापास गर्ने निर्णय पनि गरेको छ। साथै, बागबजार–बगरकोट–सिराड–रुपाल सडकअन्तर्गत पिचल चौतारीदेखि आँखा अस्पतालसम्मको सडकमा १०/१० मिटर ‘राइट अफ वे’ कायम गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ। बैठकले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया तीव्र बनाउन स्थानीय तहलाई आग्रहसमेत गरेको छ।

































