
धनगढीः कैलालीको धनगढीस्थित खप्तड यातायात प्रा.लि. का पदाधिकारीविरुद्ध संस्थाको रकम हिनामिना गरेको आरोप लागेपछि आन्तरिक राजस्व कार्यालय कैलालीले अनुसन्धान सुरु गरेको छ।

स्रोतका अनुसार संस्थाका अध्यक्ष अनन्तराज जोशी, कोषाध्यक्ष नरेश भट्ट र लेखा प्रमुख कल्याण सिंह कुँवर ले संस्थाको नाममा रहनुपर्ने रकम व्यक्तिगत संयुक्त बैंक खातामार्फत सञ्चालन गरेको भन्दै उजुरी दर्ता भएको हो। उजुरीमा मुक्तिनाथ विकास बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा तीन जनाको संयुक्त नाममा खाता खोली संस्थाको करिब ६० लाख रुपैयाँ राखिएको दाबी गरिएको छ।
आन्तरिक राजस्व कार्यालय कैलालीका सूचना अधिकारी छात्र माझी ले उजुरी प्राप्त भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको बताए। उनका अनुसार अनुसन्धान पूरा भएपछि मात्र यसबारे विस्तृत जानकारी सार्वजनिक गरिनेछ।




यता, खप्तड यातायातका अध्यक्ष अनन्तराज जोशीसँग प्रतिक्रिया लिन खोजिएको भए पनि उनले बैठकमा रहेको जनाउँदै पछि सम्पर्क गर्न आग्रह गरेका थिए। समाचार तयार पार्दासम्म उनको विस्तृत धारणा प्राप्त हुन सकेको छैन।
कानुनी रूपमा कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको कम्पनीको सम्पत्ति, आम्दानी तथा बैंक कारोबार कम्पनीकै नाममा सञ्चालन हुनुपर्ने व्यवस्था छ। यदि अनुसन्धानबाट कम्पनीको रकम पदाधिकारीहरूको व्यक्तिगत वा संयुक्त खातामा राखिएको पुष्टि भएमा वित्तीय अनुशासन उल्लङ्घन, विश्वासको दुरुपयोग, हिनामिना वा करसम्बन्धी कानुनी प्रश्न उठ्न सक्ने कानुनविद्हरू बताउँछन्।
आरोप पुष्टि भएमा सम्बन्धित निकायले रकमको स्रोत तथा कारोबारको विस्तृत छानबिन, कर तथा लेखा परीक्षण, गैरकानुनी कारोबार देखिए रकम असुलउपर, तथा कम्पनी ऐन, करसम्बन्धी कानुन र प्रचलित फौजदारी कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सक्नेछ।


































